कृति समीक्षा

0
149

पदमसिंह कार्की
हास्य कलाकार हरिवंश आचार्यको चिना हराएको मान्छेको बिक्री ह्वात्तै बढेपछि आत्मकथाको बजारले काँचुली फेरेको धेरै भएको छैन । युवा प्रकाशकहरूको जमर्कोलाई टेवा दिएर नाम र दाम कमाउने मौकामा आत्मकथा लेखकको लर्को नै लाग्यो । कोहीले आफैँ लेखेर, केहीले खेताला खोजेर लेखाए । लेखाइएका पुस्तकमा त अपत्यारिला र उराठलाग्दा बखान अनि सार्वजनिक दृष्टिले मूल्यहीन तस्बिरको जमघट हुने नै भयो । स्वयंले लेखेका आत्मकथामा पनि निधन भइसकेका पात्र उभ्याएर भए–नभएका आफू अनुकूलका संवाद उल्लेख गरेर सत्य पुष्टि गर्ने शैलीबाट पाठक आजित भइसकेका छन् । तसर्थ, पाठकले गर्ने विश्वासमा ठेस पुगेका कारण आत्मकथाको बजार ढकमक्क फुल्नुअघि नै ओइलिन थालेको छ ।

समयको तुवाँलोलाई चिरेर पत्रकारिता, कूटनीति र राजनीतिका त्रिमूर्ति रमेशनाथ पाण्डेको आत्मकथा कूटनीति र राजनीति भारतको अघोषित नाकाबन्दीको साइत जुराएर आएको छ । सौतेनी स्वभावका तीन विधालाई परिपूरक बनाएर भाग्यको बोटमा सुरेली खेलेको यो आत्मगाथा राजतन्त्रको देउरालीमा चढाएको आस्थाको फूलपाती पनि हुन सक्छ, अर्धशताब्दीको संघर्ष र त्यसपछि ताँती लागेका सफलताले उनको मनोरथ परिपूर्ण बनाए पनि एउटा धोकोले भने उनलाई पछ्याउन अझै छाडेको छैन ।

पाण्डे मात्र २८ वर्षका थिए । त्रिपुरेश्वर गेस्ट हाउसमा भएको वैवाहिक कार्यक्रममा राजा महेन्द्रले सबैभन्दा कलिलो राजदूत बनाएर जापान पठाउने वचन दिए । महेन्द्र बिते । वीरेन्द्र बिते । राजतन्त्र बित्यो । पाण्डे बरू परराष्ट्रमन्त्री भएर कतिलाई राजदूत बनाए । तर, विधिको विडम्बना ! सबै राजाले ‘तिमीले देशभित्रै बसेर मलाई सहयोग गर्नुपर्छ’ भनेर उनको बिन्ती नसुनेको दुखेसो पटकपटक दोहोर्‍याएका छन् ।

०१७ सालको सेरोफेरोमा सुरु भएको पुस्तकमा १७ वर्षकै उमेरमा राजा महेन्द्र र बीपी कोइरालाको भ्रमणमा संलग्न हुनु नै पाण्डेको क्षमताको कीर्तिमान हुँदै हो । त्यसमाथि पनि भ्रमणको चुरोलाई समातेर विश्लेषण गरेर निकालेको निचोड यथार्थ र परिपक्व छ । १ पुस ०१७ को भवितव्यको जानकारी नयाँ नभए पनि जीवन्त प्रस्तुति पढ्दा घटना हेरेजत्तिकै लाग्छ । काठमाडौँका तीता घटना भनेर लेखकले दुइटा घटना प्रस्तुत गरेर गणेशमानजीको नेपाली जनताको ढुलमुले नीतिको उछितो काढेका छन् ।

‘२०१७ पुस १ । बिहान प्रधानमन्त्री निवासमा बीपीलाई भेट्न उहाँका भक्त, समर्थक र प्रशंसकहरूको साबिकबमोजिम भीड लागेको थियो । तर, केही घन्टापछि गिरफ्तार भएका बीपीलाई अत्यावश्यक बिछ्यौनालगायतका सामान्य सामान त्रिपुरेश्वरबाट सिंहदरबार पुर्‍याउने साधन पनि कोइराला परिवारले पाएन । उहाँका लागि ओछ्यान र लगाउने लुगा काँधमा बोकेर सिंहदरबार पुर्‍याउने साहस नक्साल नारायणचौरका एक जना दूध व्यापारी देवनारायणले देखाए ।’

‘एक दिन रोशा कोइरालासँग भेट भयो । कोइराला परिवार वीर अस्पतालपछाडि भोसीको टोलमा भक्तपुरका साहसिला युवक बलराम श्रेष्ठको घरमा वस्दथे । त्यस बेला कोइराला परिवारलाई बास दिनु अनिष्ट निम्त्याउनु हुन्थ्यो । त्यस्तो बेला पनि भाडासमेत नलिई सिंगै घर उपलब्ध गराएका थिए । त्यसै गरी, नयाँ सन्देशको सम्पादक बनेर स्थापित भइसकेको अवस्थामा पनि सशस्त्र प्रहरीको घेरामा देखेर इष्टमित्रले बाटामा जम्काभेट हुँदा मुन्टो बटारेको अमिलो अनुभव छ ।’

गोपालदासको कमनर प्रकाशनको अनुभवका आधारमा ७ साउन ०१८ मा पाण्डेले बीपीपुत्र सशांक प्रेसबाट नयाँ सन्देश साप्ताहिक चलाए । यसको पहिलो अंकमा पत्रिकाको नामका मुनि सम्पादकको नाम राखेर पहिलो समाचारको शीर्षकमा ‘श्री ५ महेन्द्र’ छापिएको थियो । पहिलो सम्पादकीयमा अन्य पत्रिकालाई खबरको व्यापार गरे भनी लाञ्छना लगाए । तर, कालान्तरमा यही सूचनाको ओसारपसारबाट नाम र दाम कमाउने जेठो पत्रकारमा आफैँ दरिन पुगे । केही महिनापछि सुशीला भाउज्यूलाई अंग्रेजीमा लेखिएको पत्रको अनुवाद छापिएबापत पत्रिका केही महिना बन्द हुन पुग्यो । तर, आत्मविश्वासी पाण्डेले कार्टुन, प्रश्नोत्तरजस्ता स्तम्भको सुरुआत गरेर फूलभन्दा नरम पत्थरभन्दा साह्रो छवि बनाए । पत्रिकाले बजार पनि लियो । तर, मनोरञ्जन हेतु युवतीका उत्ताउला फोटो छापिएबापत छिद्रान्वेषीद्वारा ‘ड्राइभर पत्रिका’ को पगरी भिराइयो ।

पत्रकारिताको जगमा बनेको कूटनीति र राजनीतिको स्तम्भमाथि सुरक्षित सीसमहलमा बसेर निम्छराहरूलाई मट्यांग्रा हान्ने सोख धेरै समय जारी नै राखे । पत्रिकालाई भर्‍याङ बनाएर दरबारको सिँढी चढे भने भियतनाम युद्धमा अमेरिकाले गरेको नरसंहारलाई समर्थन गरेर दूतावासमा बेग्लै कोठा बनाउन मात्र सफल नभएका होइनन् कि अमेरिकी सरकारको विशेष पाहुनाको सत्कार पनि ग्रहण गरे । यसरी सम्पादकको हैसियतले धेरै दूतावाससँग फलदायी सम्पर्क राख्न सफल पाण्डेले अमेरिकाबाट फर्केपछि न्यु हेराल्ड चलाए । राजासँग चीन जाँदा लङ्ग ह्यान्डसेक पुस्तक लेखे । यी दुवै प्रकाशनको हुबहु साफी भने किशोरीरमण राणाले गर्थे ।

जुनसुकै कारणले होस्, राजा महेन्द्र र बीपीको दुस्मनी र विपरीत ध्रुवीकरणलाई मैत्री बनाउनु असम्भव त छँदै थियो । झन् पत्रकार पाण्डेले कल्पना गर्नु भनेको हुटिटयाउँले आकाश थाम्नुजस्तै थियो । आफ्नो उमेर, अनुभव र स्रोतको कसीमा उनले गरेको अद्भुत अठोटलाई स्यालुट गर्नैपर्छ । तर, यो सम्पूर्ण उडानको पाइलटिङ गर्ने श्रेय तत्कालीन रक्षासचिव जर्नेल पदमबहादुर खत्रीलाई जान्छ । राजा महेन्द्रबाट तालिम पाएँ भन्ने पाण्डेका असली प्रशिक्षकचाहिँ खत्री नै हुनुपर्छ । यसै नेपाल सानो, काठमाडौँ झन् सानो, हजार ननाघ्ने मान्छेहरूको हातमा सामाजिक, राजनीतिक, आर्थिक हालीमुहाली भएका बेला बानेश्वरको कुरा ज्ञानेश्वरमा छिप्ने कुरै भएन । त्यसैले त वनले नचिनेको बाघ, बाघले नचिनेको वन भन्छन् ।

“२०२१ सालमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा प्रवेश नगरिसकेका तर मौका खोजेर उभिइरहेका तीन नेता सूर्यप्रसाद उपाध्याय, टंकप्रसाद आचार्य र रंगनाथ शर्माले संयुक्त रूपमा भेटेपछि राजामार्फत कार्यक्रमसहित प्रस्ताव पठाउनु भनिएछ । प्रस्ताव पठाउँदा तिनै नेताले आफूहरूको एकता सूर्य र चन्द्र रहुन्जेल रहिरहने भनी प्रतिबद्धता व्यक्त गरेछन् । राजाले हस्ताक्षरमा पठाएको जवाफमा ‘तर, तिमीहरूबीचको एकता सूर्य र चन्द्रमा जस्तो त नहोस्’ भनी व्यंग्य कसे र पुग्यो पनि त्यस्तै ।

०२१ सालको वर्षामा पाण्डेले महेन्द्रलाई भेटेर प्रस्ताव पेस गरे । राजालाई दुस्मनसँग भेट्ने र सँगै सहयात्रा गर्ने प्रस्तावमा सहमत गराउनु कम गाह्रो कुरा थिएन । उनले राजाको अहम्लाई उचालेर गरेको वार्ता जति रोचक छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण त्यत्तिकै सटीक छ । अझ राजा र बीपीबीचको एकअर्काका आत्मप्रशंसा बाँडेर बनाएको झोलुंगे पुलको पृष्ठभूमि कम पीडादायी छैन । ०५४ सालमा जेल जर्नल प्रकाशित भएपछि अल्लाका भूँइचम्पा उड्न छाडेका छन् ।

१७ माघ ०२० मा जेल जर्नलको परिवारले पठाएको चिट्ठीमा यस्तो छ, ‘रमेशका बारेमा असाध्यै हल्ला छ । डबल रोल खेल्दै छ भन्ने मलाई त लाग्दैन तर हजुरलाई नै थाहा होला । सुन्दछु म नहुँदा बुनुसँग प्रेमराज आङदम्बेले बिहान ४ बजे आएर भने रे कि ती सीआईडी हुन् रे ! तर, खै हाम्रो प्रेस चलाएको पैसाचाहिँ दिएका छैनन्, के हो के होइन ? बीपीले १४ पुस ०२१ सालमा पठाएको बुँदागत जवाफमा, ‘रमेशलाई पनि छिट्टै नहडबढाउन भन्नू । उसका बारे तिमीले सुनेका कुरा साँचो वा झुट्टा पनि हुन सक्छन् । त्यसैले सतर्क रहनू ।’

यस्तो पोल सुन्दा पनि पाण्डेसँग लट् िठएका बीपीले राजालाई पत्र लेखिदिए । सपना पूरा हुन लाग्यो भनेर हौसिएका उनका सपना फेरि गर्भ नबस्ने गरी तुहियो । चार वर्षपछि २ जेठ ०२५ मा कोलकाताबाट कांग्रेस अध्यक्ष सुवर्णशमशेरको सार्वजनिक वक्तव्यमा टेकेर राजाले आममाफी र सम्पत्ति फिर्ता गर्ने घोषणा गरे । त्यसैमा टेकेर कृष्णप्रसाद भट्टराईबाहेक बीपी, गणेशमान सब छुटे । राजा महेन्द्रदेखि पारससम्मका भित्रिया बनेका पाण्डेले सोनिया गान्धीको पशुपतिनाथ प्रवेश काण्डमा रानी ऐश्वर्यको अर्घेलो राजकीय र कूटनीतिक मान्यताविपरीत थियो भनेर नैतिक हिम्मत देखाएका छन् । जहाँसम्म राजदरबार हत्याकाण्डको प्रसंग छ, पाण्डेको चित्रण वस्तुगतभन्दा पनि भावुक र अनुभूतिपरक भेटिन्छ ।

अहिलेसम्म पनि एमाले, कांग्रेस र एमाओवादीलाई लखेटिरहेका भनेर आत्मकथाकारले किन प्रमुख दलले जाँचबुझ गराउने साहस देखाउन सकेनन् ? किन प्रधानमन्त्री गिरिजाप्रसादले विश्वका पत्यारिला विज्ञबाट सेवा लिएनन् ? किन राजा वीरेन्द्रको पोस्टमार्टम गराएनन् ? किन यो त्रुटि सच्याउने साहस पछिल्ला सरकारले देखाएनन् भन्दै प्रश्न तेस्र्याएका छन् ।

राजा महेन्द्रदेखि प्रचण्डसम्मका मनका कुरा लेखेको, कथेको दाबी गर्ने पाण्डेले मदन भण्डारीसँग राजनीतिको मध्यान्तरमा एउटै चौतारीमा थकाइ मारेको चर्चा गरेका छन् । यद्यपि, भण्डारी ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्थे । त्यसरी नै अमेरिकाका आइजन आवरदेखि चीनका चाउएन लाईसँग अन्तरंग सम्बन्ध र जापानका हासिमोतोदेखि पाकिस्तानका परवेज मुसर्रफसम्म जिग्री दोस्त भएको कुरा तस्बिर छापेर दसी पेस गरेका छन् ।

प्रेम र घृणाको रोटेपिङमा रिङेको नेपाल–भारत सम्बन्धमा उसबेला पाण्डेले गरेको टिप्पणी यतिबेला झन् टड्कारो भएको छ । ‘भारतसँगको सम्बन्धमा मैले विभिन्न कालखण्डमा संवेदनशील भूमिकाबाट हासिल गरेको अनुभवको निचोड के हो भने इच्छाशक्ति भएको, शक्तिशाली र अनुभवी प्रधानमन्त्री अन्तर्गत भारतको कर्मचारीतन्त्र सहयोगीको भूमिकामा मात्र सीमित रहन्छ तर अनुभवहीन र कमजोर प्रधानमन्त्री भएका बेला भने चालकलाई काखमा राखेर कर्मचारीतन्त्र आफैँ चलाउन थाल्छ ।’

यस्ता खारिएका ज्ञानवद्र्धक निचोड छ्यापछयाप्ती पाइन्छन् । तर, पाण्डेले बेलायतको भने यसरी उछितो काढेका छन्, ‘५० लाखभन्दा पनि कम जनसंख्या भएको नेपालका २३ हजार सैनिकले दुई युद्धमा बलिदान दिए । दोस्रो विश्वयुद्धमा त नेपालले ब्रिटेनको युद्धकोषमा लाखौँ रुपियाँ चन्दासमेत दिएको थियो । तर, नेपालको यो गुनलाई नतिरेको मात्र होइन, सम्मान पनि गरेन । अप्ठ्यारो परेका
बेलामा पिठ्यूँ फर्काउने नीतिमै ब्रिटेनको निरन्तरता रह्यो ।’

समग्रमा, पुस्तक आफूलाई केन्द्रमा राखेर मरेका पात्रका काँधमाथि चढी आत्मरतिको बन्दुक सोझ्याउने आत्मकथा लेखकहरूको पुरानो रोगबाट मुक्त छैन । उदाहरणका लागि ०२४ सालमा कञ्चनपुरको सिकारमा राजालाई बेलुका हृदयघात भएपछि डा मृगेन्द्रराज पाण्डेलाई लिएर क्याप्टेन बबी शाहले क्याम्पमा राँको बालेर जहाज ल्यान्ड गरेको, साथमा रहेका उपप्रधानमन्त्री कीर्तिनिधि विष्टबाट सुनेको थिएँ । तर, पाण्डेले प्रधानमन्त्री थापाले भनेर आफूले औषधी र अमेरिकी हेलिकप्टरमा रानी रत्नलाई पठाएको लेखेका रहेछन् । सञ्चारमन्त्रीको हैसियतले गुरु गोपालदासको टिकटमा टाँचा लगाउनु नियमित कामभन्दा अन्यथा होइन । उनले अग्रजलाई सम्मान गरेको त कुन्नि ? बरू, जेठा पत्रकारको टाई झड्कालेर मानमर्दन गरेको सुनेको छु । पुस्तक पचाउन सके स्वास्थ्यवद्र्धक छ ।

कूटनीति र राजनीति
स्रष्टा    : रमेशनाथ पाण्डे
प्रकाशक    :    सांग्रिला बुक्स
पृष्ठ    :    ७३२
मूल्य    :    ७७७ रुपियाँ

प्रकाशित: आश्विन २६, २०७२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here